प्रचण्ड आज नयाँ दिल्ली जाँदै, आइतबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने


काठमाडौं, असार ३१। ​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमण जाँदैछन्। उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन्। भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

तर दिल्लीमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । स्रोतका अनुसार आइतबार बिहान मोदीसँग उनकै निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा.एस. जयशंकरसँग पनि भेटवार्ता गर्नेछन्। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै उनी भारत भ्रमणमा जानुलाई अर्थपूर्ण मानिएको छ। प्रचण्डका स्वकीय मल्लका अनुसार भारतीय विदेशसचिव विनयमोहन क्वात्राले डेढ महिनाअघि नै नड्डाले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए। नेपालका प्रमुख राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्ने नीतिअनुसार भाजपाले प्रचण्डलाई निमन्त्रणा गरेको बताइएको छ। प्रचण्ड साउन १ गते स्वदेश फर्किने छन्।