प्रचण्ड दिल्ली उत्रिएसँगै राजनीतिक भेटघाटमा व्यस्त


भारतीय जनता पार्टीको निम्तामा शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट सुरु गर्न थालेका छन्। तीन दिनका लागि दिल्ली पुगेका उनले शुक्रबार दिउँसो भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्। प्रचण्डलाई भाजपाको तर्फबाट चौथाइवालेले स्वागत गरेका हुन्।

सो भेटघाटको तस्बिर चौथाइवालेले नै सार्वजनिक गरेका छन्। दुईजनाबीचको भेटका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि सहभागी थिए। त्यस्तै प्रचण्डसँगै दिल्ली पुगेकी पुत्री एवम् स्वकीय सचिव गंगा दाहाल पनि भेटवार्तामा सहभागी भएकी थिइन्।

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली पुगेका हुन्। दुई दिन भारतमा रहँदा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने उच्च सम्भावना छ। दिल्लीमा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने छन्।

प्रचण्ड आज शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उडेका थिए। उनले भारतीय जनता पार्टीको कार्यालय पनि भ्रमण गर्ने कार्यतालिका छ।