प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित, को हुन पुष्पा ?


प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रबार संसदमा भएको मतदानमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले नेकपा एमालेकी विद्या भट्टराईलाई हराउँदै पाँच महिनाका लागि उपसभामुख पद पक्का गरेकी हुन्।

विजेता भुसालले पाँच दलीय गठबन्धन दल र लोकतान्त्रिक समाजवादीको समेत १ सय ४८ मत प्राप्त गरिन । प्रतिनिधिसभामा २७१ सांसद छन्। यस्तोमा भुसाललाई विजयी हुन १३६ मत आवश्यक थियो। संसदमा २४२ जना उपस्थित भएका थिए।

भुसालको विपक्षमा मत खसाल्नेको संख्या ९३ थियो। एकजना सांसदले मत दिन्न भनेका थिए। उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मत दिए ।

६ माघ ०७६ मा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिना रिक्त थियो। २ चैत २०७४ मा पनि भुसाल उपसभामुख पदकी उम्मेदवार थिइन्। त्यसबेला बाम गठबन्धनकी डा. शिवमाया तुम्बाहाङ्फेसँग उनी पराजित भएकी थिइन्।

त्यसबेला संसदमा रहेका २७५ सांसदमध्ये मतदानमा २ सय ६२ जना सहभागी थिए। भुसालको पक्षमा भने ६१ मत परेको थियो। डा. तुम्बाहाङ्फेको पक्षमा २ सय १ मत परेको थियो।

को हुन उपसभामुख भूसाल ?

उपसभामुख कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन्। संवैधानिक परिषद् बैठक अघि बढाउन नसकेको भन्दै उपसभामुख चयन गर्नुपर्ने निचोडमा रहेको कांग्रेसले भुसाललाई अघि सारेको हो।

भुसाल २०७० मा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्। ​

उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्।

भुसाल २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्। उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि निर्वाचन भएको हो।