काठमाडौं, असार ३२ । बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ । भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले बजारमा भटमासको तेल कार्टुनमा ७ सय रुपैयाँसम्म घटेको उद्योगीको भनाइ छ । त्यस्तै सूर्यमुखी तेल अहिले प्रतिकार्टुन २ हजार ६ सय रुपैयाँमा झरेको छ । यसअघि प्रतिलिटर ३ सय २० रुपैयाँ पर्ने तेल अहिले २ सय ५० देखि ६० रुपैयाँमा पाइने उद्योगीको भनाइ छ । तोरीको तेल पनि केही सस्तो भएको छ ।
तर उद्योगीले भाउ सस्तो भएको भने पनि उपभोक्ताले घटेको मूल्यमा तेल किन्न नपाएको गुनासो गरेका छन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारसम्म आइनपुगेकाले घटेकै मूल्यमा उपभोक्ताले तेल किन्न नपाएको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । उद्योगीले भाउ घटाएको भने पनि नयाँ मूल्यसहितको तेल अहिलेसम्म बजारमा छ्यापछ्याप्ती नआएको सङ्घका महासचिव आमुलकाजी तुलाधरले बताउनुभयो । नयाँ मूल्य निर्धारण गरी बजारसम्म आइपुगेको तेललाई व्यापारीले घटेकै मूल्यमा सुरु गरेका उहाँको दाबी छ ।
सबैतिरका बजारमा समान रुपले घटेकै मूल्यमा बिक्री गर्न अझै एक हप्तासम्म लाग्ने महासचिव तुलाधरले जानकारी दिनुभयो । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले मूल्य घटाएका हुन् । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घटेकाले पनि अहिले बजारमा तेलको मूल्य केही घटेर आएको हो । अझै तेलको मूल्य केही घट्न सक्ने देखिएको नेपाल सङ्घले जनाएको छ ।
सरकारले यसअघि नै खानेतेलको मूल्य घटाउन उद्योगीलाई निर्देशन दिएको थियो । खानेतेलको मूल्य घटाउन तेल उद्योगीलाई निर्देशन दिएपछि केही मात्रामा मूल्य घटेको बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । सरकार र उद्योगीले तेल केही सस्तिएको भने पनि आम उपभोक्ताले अझै पनि घटेको मूल्यमा नपाएको गुनासो गर्दै आएका छन् । व्यापारीले पुरानो स्टक तेल बिक्री गर्नुपर्दा भाउ महँगो नै भएको बताउने गरेका उपभोक्ताको भनाइ छ । गएको फेब्रुअरी अन्तिममा रुस–युक्रेनबीच युद्ध सुरु भएपछि यही बहानामा कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए । त्यतिबेला उद्योगीहरुले कच्चा पदार्थ रोकिएको भन्दै खानेतेलको मूल्य बढाउँदा अहिलेसम्मकै उच्च भएको थियो ।