बजेट खर्च दयनिय, ५७ प्रतिशत मात्रै पूँजीगत खर्च


सरकारले बजेट खर्चमा संशोधित लक्ष्य पनि भेटाउन सकेको देखिएको छ। महालेखा कार्यलयको तथ्याँक अनुसार गत आर्थिक वर्षमा सरकारले ७९ प्रतिशत बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षमा सरकारले कुल १६ खर्ब ३२ खर्ब रुपैयाँको बजेट ल्याए पनि त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको थियो। शनिबारसम्ममा सरकारले १२ खर्ब ९६ अर्ब रुपैयाँ मात्रै बजेट खर्च गरेको छ।

यसमा पूँजीगत खर्चको अवस्था निकै नै खराब देखिन्छ। यस अवधिमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेकोमा सरकारले २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ। यो भनेको लक्ष्यको ५७.२३ प्रतिशत मात्रै हो।

यस्तै वित्तीय खर्च ६२.५ प्रतिशत छ भने चालु खर्च ९० प्रतिशत रहेको छ।

आर्थिक वर्ष अन्तिममा सरकारले भुक्तानी बढाउदा असार महिनामा मात्रै करिब २ खर्ब बजेट खर्च भएको देखिएको छ। सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै लगेपनि पूँजी गत खर्च गर्न भने सधै कमजोर नै देखिने गरेको छ। खर्च गर्न नसक्नुमा खर्च गर्ने प्रणालीलाई समेत दोष लगाउने गरिएको छ।

गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा कुल ११ खर्ब ८० अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यलयको तथ्याँकले देखाउँछ।