आर्थिक मन्दीको प्रभाव, ३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध


सरकारले विलासी बस्तुको आयातमा थप कडाई गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ सय अमेरिकी डरभन्दा बढी मूल्यका मोबाइल प्रतिबन्ध लगाएको हो ।

बैशाख १४ गते लगाइएको आयात प्रतिबन्धमा ६ सय अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो ।

सरकारले भदौ १४ सम्मको लागि ६ सय डलरबाट घटाएर ३ सय डलरसम्मका मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचनामा २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३ सय देखि ६ सय डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा आयात प्रतिबन्ध नलाग्ने उल्लेख गरिएको छ ।

सरकारले कम मूल्यका फोनमा समेत आयात प्रतिबन्ध लगाएपछि मोबाइल व्यवसायी सशंकित बनेका छन । मोबाइल आयातमा थप कडाइले व्यवसाय बन्द गनुपर्ने अवस्थामा सरकारले पुर्याएको व्यवसायीको आरोप छ ।

मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मल्होत्राले सरकारको कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताए । ‘यता ३ सय डलर माथिका मोबाइलमा आयात प्रतिबन्ध लगाउने, उता अबैध मोबाइल आयातमा कडाइन नगर्ने नीतिले व्यवसाय धरापमा परेको छ’ मल्होत्राले भने ।

औपचारिक च्यानलबाट आउने मोबाइल आयातमा रोक लगाएपनि अवैध बाटोबाट आयातमा रोक लगाइएका फोनहरु बजारमा अभाव नहुने उनको भनाई छ । मल्होत्राले थपे ‘मोबाइल फोन कसरी विलासिताको बस्तुमा पर्छ मैले बुझिराखेको छैन, सरकारले मोबाइल आयात प्रतिबन्धको नाममा ग्रे मार्केटलाई प्रोत्साहन गरिरहेको छ’ ।