भाजपा अध्यक्ष नड्डासँग भेटेपछि उत्साहित छु : प्रचण्ड


काठमाडौं, साउन ०१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलव्धिमूलक कुराकानी भएको बताएका छन्। आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए।

उनले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित भएको पनि बताए। दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताए। ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलव्धीमुलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहित भएको छु’।

उनले भने, ‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ।’ उनले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए।