कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँग चुनावी तालमेल गर्ने


नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ। काँग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ। बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिए ।