एआईजी पोखरेलले दिए पदबाट राजीनामा


काठमाडौं, साउन ०२ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआइजी पोखरलले पदबाट राजीनामा दिएका हुन् ।

आफूभन्दा जुनियर धिराजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरुद्ध पोखरेलले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । तर, गत शुक्रबार सर्वोच्चले आईजीपी नियुक्तीमा प्रश्न उठाउने ठाउँ नभएको आदेश दिएपछि पोखरेल सामू दुई विकल्प थिए– पदबाट राजीनामा दिने कि अवकास पाउनै लागेको जागिर केही समयसम्म खाने । यी दुई विकल्पमध्ये सोमबार उनले पहिलो विकल्प रोजेका छन् । अब उनको राजीनमा आईजीपीमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । त्यसपछि उनको राजीनामा मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।