नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत : हेलचेक्र्याइँ नगर्न र खोप लगाउन सुझाव


काठमाडौं, साउन ०३। नेपालमा कोरोना सङ्क्रमणदर फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभरका ल्याबमा ४ हजार ६ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भर्ना भएका बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघा लाग्ने, थकित हुने, पसिना आउनेजस्ता लक्षण छन् । गएको असार १ गते परीक्षण गरिएकामध्ये ० दशमलव ६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, जसमध्ये काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी, नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला आठ वटा मात्र रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्य नमुनामा बीए वान र बीए फाइभ पुष्टि भएको छ ।

नेपालमा पछिल्लो समयमा भिडभाड बढ्दै गएको र मानिसले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छोडेकाले पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको डाक्टरले बताएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मौसम परिवर्तन भएकाले भाइरल ज्वरो, रुघा खोकी लागेर अस्पतालमा आउने सङ्ख्या बढेको र जाँच गर्दा कोरोना पुष्टि हुने गरेको छ । अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक हजार सात सय सक्रिय सङ्क्रमितमध्ये ७५ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । दुई दिनमा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार ती दुई जनाले खोप लगाएका थिएनन् । यसअघि गएको वैशाख २१ गते एक जनाको ज्यान गएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दासले नेपालमा कोरोना नियन्त्रणमा बनाइएका संयन्त्र रहेकाले त्यसैअनुसार सबै अस्पताल र पालिकालाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभयो । पहिलेदेखि नै स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्दा गर्दै पनि स्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ र कतिपयले खोप नलगाएका कारण सङ्क्रमण बढेको पनि उहाँको भनाइ छ ।

कोरोना बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड पालन गर्न, भिडभाडमा मास्कको प्रयोग गर्न र खोप लगाउन डाक्टरको सुझाव छ । विभिन्न अध्ययनहरुले बीए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रामक रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको आग्रह छ । कोभिडविरुद्धको खोप लगाएकामा जोखिम कम हुने हुँदा कोरोनाविरुद्धको खोप लगाउन पनि सरकारको सुझाव छ ।

यसैबीच काठमाण्डौमा आजदेखि १८ वर्षमाथिको उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाण्डौका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको कोभिसिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । आजदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ ।