पाँच वर्षअघि देउवाको ‘गाली खाएर’ चर्चामा आएका सागर डडेल्धुरामा चुनाव लड्ने


काठमाडौं, साउन ०३। पाँच वर्षअघि यही समयमा सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रमको उक्त भिडिओमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवकले ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका छन्। देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर जवाफ फर्काउँछन्। पाँच वर्षअघि देउवालाई प्रश्न सोध्ने ती युवा गुल्मीका सागर ढकाल थिए।

उक्त कार्यक्रम भएको केही महिनापछि चुनाव भयो। देउवा प्रधानमन्त्रीबाट हटे। प्रश्न सोध्ने सागर पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगे। पाँच वर्षपछि देशमा फेरि संसदीय चुनावको तयारी हुँदैछ। आगामी मंसिरमा हुने चुनावका लागि निर्वाचन आयोगले एक-दुई दिनमा मिति तोक्दै छ। यसपालिको चुनावमा तिनै सागरले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिने तयारीमा छन्। ४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीति गर्न नेपाल फर्किएको सागरले बताए। उनी एक साताअघि मात्रै नेपाल आइपुगेका हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए ।