बोरिङ खन्दा काठमाडौमा ग्यासको मुस्लो निस्कियो


पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि सो स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए । ग्याससहितको मुस्लो माथिसम्म पुगेको देखिन्छ ।

प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।
राजधानीमा ग्यासको प्रयाप्त सम्भावना भएपनि सरकारले उचित संरक्षण र यसको उपयोगितामा ध्यान दिन सकेको छैन ।