तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा


काठमाडौं, साउन ०६। आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।