पाल्पामा बस दुर्घटना: कम्तीमा ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते


काठमाडौं, साउन ०८। पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो। घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ।

‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।