चितवन, पर्सा, कास्की, रुपन्देही, हेटौँडालगायत ठाउँमा ठूलो वर्षा, बाढी र डुबानको जोखिम


काठमाडौं, साउन १२। चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम रहेको जनाएको हो ।

ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र अन्य खहरे खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन सूचनामा भनिएको छ । यस्तै, पर्साको ठोरी, मकवानपुरको हेटौँडा, नवलपरासी, रुपन्देही, कास्की र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको र यी क्षेत्रमा फेरि पनि ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले बिहान १० बजेसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ  आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, मधेस प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यसैबीच, पानी परिरहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।  सडकका खाल्डाखुल्डीमा पानी जमेको हुन सक्ने र सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम रहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो । अहिले काठमाण्डौ उपत्यकासहित मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्ड र नौबिसे-मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।