काठमाडौं, साउन १४। आज देशका चार वटा प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ ।
अबका तीन दिन सोमवारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान आकाश धुम्मिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ । निरन्तर पानी पर्दा जमिन भिजिरहने भएकाले पहिरोको जोखिम हुने तथा नदी/खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
केही दिनदेखि पानी परेपछि तराई क्षेत्रमा राहत भएको छ । प्रदेश-२, लुम्बिनीसहित तराई क्षेत्रमा गर्मी केही घटेको छ । तर सोमवारपछि मनसुन कमजोर हुने देखिएकाले फेरि गर्मी बढ्न सक्ने देखिएको मौसमविद् श्रेष्ठले बताउनुभयो । यो हप्ता तराई क्षेत्रमा परेको पानीले धान रोपेका ठाउँमा रोपो मर्नबाट जोगिएको महोत्तरीका किसान रामविनोद महतोले बताउनुभयो । पछिल्लो वर्षाले धान, उखु, तरकारी र फलफूलका बिरुवालाई पनि राहत भएको छ ।