पोखरामा मेयरहरुको सम्मेलन : महानगर सञ्चालनका अनुभवसहित सहकार्यका विषयमा छलफल


काठमाडौं, साउन १४। पोखरामा चलिरहेको मेयर सम्मेलनमा महानगर सञ्चालनका अनुभवसहित सहकार्यका विषयमा छलफल केन्द्रित रहेको छ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाण्डौ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भइरहेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । महानगरलाई थप उत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न पनि सम्मेलन फलदायी हुने विश्वास लिइएको उहाँले बताउनुभयो । महानगरको छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेको मेयर आचार्यको भनाइ छ । सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेस गर्नेछ । हिजोदेखि सुरु भएको सम्मेलन आज सकिनेछ ।