‘भूकम्प ठूलो हो तर क्षतिको जानकारी आएको छैन’


काठमाडौं, साउन १५। खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ठूलो भूकम्प गए पनि क्षतिको जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले भन्नुभयो, ‘भूकम्पको ठूलो धक्का महसुस भयो तर अहिलेसम्म क्षतिबारेको विवरण आएको छैन ।’ राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीकाअनुसार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का खोटाङ र काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको थियो । क्षतिको विवरण नआएको र विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।