गण्डकी प्रदेशकै पर्यटकिय सम्भावना बोकेको पञ्चासे क्षेत्र ( फोटो फिचर सहित )


कास्की, स्याङजा र पर्वत जिल्लाको संगमस्थल हो, पञ्चासे । यो क्षेत्र पर्यटन विकासको उच्च सम्भावना बोकेको क्षेत्र होे पञ्चासे धाम । पर्वत जिल्लाकै महत्वपूर्ण धार्मिक, ऐतिहासिक र मनोरम प्राकृतिक स्थलका रुपमा मानिएको पञ्चासे क्षेत्रको केही भाग कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा पर्दछ । हिउँदमा सेतै हिउ पर्ने यस क्षेत्रमा सुन सुकै मौसममा समेत सजिलै पुग्न सकिन्छ ।

सुन्दर हिमालहरु तथा मनोरम प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन गर्न पाइने यो क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । कास्की, स्याङजा र पर्वत जिल्लाको संगमस्थलमा रहेको यो क्षेत्रमा पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । कुश्मा नगरपालिकाको मात्र नभएर गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा यो क्षेत्र स्थापित भएको छ । सुन्दर, शान्त प्राकृतिक वातावरणभित्र रमाउन चाहाने मानिसहरुलाई ध्यानका लागि यो क्षेत्र प्रख्यात मानिन्छ । स्वदेशी तथा विदेशी धेरै व्यक्तिहरुले यसको धार्मिक महत्वका बारेमा व्यापक अध्ययन अनुसन्धान गरेका छन् ।

पञ्चासेको ४ वटा मुख्य विशेषताहरु रहेका छन् । ती हुन्ः– दृश्यावलोकन स्थल, पाँच नदीको उद्गम, दुलर्भ जडिबुटी तथा धार्मिक ऐतिहासिक स्थल । समुन्द्र सतहबाट २ हजार ५ सय १७ मिटरको उचाईमा रहेको पञ्चासेबाट अन्नपूर्ण, माछापुच्छे्र, धौलागिरी, निलगिरी हिमश्रृखलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट देखिने पहाड, ताल, फाँट र खोलाहरुको दृश्यावलोकनबाट मानिसहरु कहिल्यै पनि तृप्त हुन सक्दैनन् । यसका अलावा पानीको मुलको श्रोत थाहा नभएको पोखरी देखेर जो कोही पनि अचम्भित हुनु स्वभाविकै मानिन्छ । जङ्गलको बीचमा रहेको ११० मिटर लम्बाई, २५ मिटर चौडाई र १० मिटर गहिराई भएको यो पोखरी अत्यन्त कञ्चन रहेको छ । यो पोखरीको वरिपरि बाक्लो जङ्गल रहेको भए तापनि पोखरीमा पात भने एउटा पनि देखिदैन । पोखरीमा खसेका पातहरु चराहरुले टिपेर लैजान्छन् भन्ने जनविश्वास यहाँ रहेको छ ।

पञ्चासबाट उत्पत्ति हुर्ने हरपन खोला, अँधेरी खोला, रती खोला, जहरे खोला र आँधीखोला कास्की स्याङजा र पर्वत जिल्ला भएर बग्दछन् । ११३ प्रजातिका जङ्गली अकिड÷सुनाखरी पाइने पञ्चासेमा लालीगुराँस, रहचनना, खस्रु, फलाँट जस्ता रुखका प्रजातिको बाहल्यता छ । यो जङगलमा रहेको सुनाखरी मुख्य आर्कषकको रुपमा लिइन्छ । यो फूल परनिर्भरतामा आधारित अन्य रुपमा सुन्दर फुल्ने पवरजातिमा पर्दछ । यहाँ बाघ, भालु, कालिज, फ्याउरो, मृग, खरायो जस्ता बन्यजन्तुहरु समेत छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण पञ्चासे धार्मिक दृष्टिले पनि ज्यादै सम्पन्न रहेको छ । यहाँस्थित सिद्धबाबा पञ्चासे सरोवर र वराह मन्दिरको विशेष धार्मिक महत्व रहेको छ ।

धार्मिक ग्रन्थअनुसार ऋषिले ध्यान गर्ने स्थल यही पवित्र भूमि पञ्चासे थियो भन्ने भनाई छ । पञ्चासे क्षेत्रमा महान योगीहरु आई मातारुपी परम्परामा योगाभ्यास गरेको किम्बदन्तीहरु रहेका छन् । आफ्ना वनबासको समयमा पञ्च पाण्डवहरु आई पञ्चासेमा बास बसेको र दर्शन गरेको किम्वदन्ती छ । पञ्चासेको योग परम्पराको साक्षात प्रमाण वार्षिक मेला हो । जहाँ आजसम्म पनि सिद्धबाबा गुफाको टुप्पामा शक्तिको रुपमा शक्तिगान गरिन्छ । यो मन्दिर क्षेत्रमा चट्टान परी पुरै स्वरुप ध्वस्त भएकाले अहिले फेरी पुर्ननिर्माणको काम सुरु भएको स्थानीयबासीन्दा आर्थर डाँडाखर्क काउलेका दुर्गा प्रसाद शर्मा बताउँछन् । शर्माले यस मन्दिरमा भाकल गरी पुजा गर्नाले मनोकामना पुरा हुने विश्वसामा साथ भक्तजनहरु आउने गरेको बताए । यता यस क्षेत्रमा सबैभन्दा लामो दुरीका सतविर्ज छर्ने गरिन्छ । हाल यस स्थानमा बालाचर्तदर्शी, शिवरात्री, फागुपूर्णिमाका दिन हजारौ भक्तजनहरु पूजा आजा गर्न आउने गर्दछन् । प्रत्येक वर्ष करिब २० हजार पर्यटक यहाँ आई अन्नपूर्ण हिमश्रृब्खलासँग जङ्गलले घेरिएको सुन्दर चरन क्षेत्र देखिन्छ । यस क्षेत्रको मुख्य आकर्षण पद मार्ग हो ।

यहाँ पुग्न पर्वतको सदरमुकाम कुश्मा–डिमुव–चित्रे–पञ्चासे भएतापनि अन्य छोटा पदमाग समेत रहेका छन् । अन्य ५ पदमार्गहरु भञ्ज्याङ, आरर्थर डाँडा खर्क, भदौरे, कास्की सल्यान हुदै समेत पुग्न सकिन्छ । जुन सुकै पदमार्गबाट गएपनि यहाँ पुग्न कम्तीमा एक घण्टाको पैदल यात्रा गर्नै पर्ने हुन्छ । सबै भन्दा छोटो दुरी भनेको कुश्माबाट २० किलोमिटर भञ्ज्याङसम्म सावारी यात्रा र एक घण्टाको सिढी यात्रमा पञ्चासे टाकुरामा पुग्न सकिन्छ ।

 

यता पोखराबाट २८ किलोमिटरको मोटर यात्रापछि पुग्ने स्थान पनि सोही भञ्ज्याङ नै हो । यो रुटलाई अन्नपुर्ण सर्किट र सिरुवारीसँग जोड्न सके पञ्चासेको पर्यटन विकासमा थप बल पुग्नेछ । यता आरर्थर तर्फ नेपालकै एक मात्र राधाकृष्ण र सुदामाको मन्दिर रहेको छ । साथमा निकै सुन्दर पोखरी समेत निर्माण गरी जलाधार संरक्षणमा काम भएको देखिन्छ ।

मन्दिरको नजिकै निकै आर्कषक पोखरीका साथै गणेशको निकै सुन्दर मन्दिर समेत छ । सोही स्तानबाट सुन्दर घाँसे मैदानका साथै ठूलाठूला खर्कहरु समेत देख्न सकिन्छ । जुनसुकै समयमा पुग्न सकिने यस क्षेत्रमा पैदल यात्रा गर्दा थकान मेटाउने ठाँउठाँउमा चौपारी तथा सत्तलहरु समेत निर्माण भएका छन् । यहाँको मौसमले एकै दिनमा धेरै पटक स्वरुप बदलिरहने मुख्य विशेषता नै हो । पञ्चासेको पर्यटन विकाससँगसँगै पूर्वाधार विकासको लागी चौतर्फि सहयोग आइरहेको छ ।

नेपाल सरकार सँगसँगै विश्व वन्यजन्तु कोष, अमेरिकी सहयोग नियोग, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, आइयुसिएन, जर्मनी सरकार, युएससी क्यानडा जस्ता दातृ निकाय र नेपाल पर्यटन बोर्डले पनि पञ्चासेको विकासको लागि सहयोग पु¥याएका छन् । सुन्दर र जैविक विविधताले भरिपूर्ण यस पञ्चासे क्षेत्रको व्यापक प्रचार प्रसार गरी विकास र विस्तार गर्न सकेमा पर्वतको साथै समंग्र गण्डकी प्रदेशकै आर्थिक तथा पर्यटकीय विकासमा ठूलो योगदान पुग्न सक्ने बलियो संभावना यहाँ रहेको छ ।

अहिले पञ्चसे धार्मिक धामको विकासका लागि पर्वत, कास्की र स्याङजाका संयुुक्त प्रतिनिधिहरु सहभागी भई पञ्चासै क्षेत्र संरक्षण समिति निर्माण गरी संरक्षण र सम्वद्धनको काम गरिरहेको मन्दिर निर्माण समितिका सदस्य तथा समाजसेवी खड्ग बरालले बताएका छन् ।  – यमन पौड्याल / केशव अधिकारी