सत्ता गठबन्धनमा सिट बाँडफाँट : अहिलेको सांसद संख्यालाई आधार मान्ने समझदारी


काठमाडौं, साउन २६। सत्तारुढ दलहरुबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

‘त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ’ उनले भने, ‘दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने । यद्यपि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने उनले बताए । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गुरुङले बताए । गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उनले जानकारी दिए ।