अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुस्करलाई


काठमाडौं, साउन २७। सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो। यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो। राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ । यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी सरहको पद)मा बढुवा गरेको छ। डीआईजी सरहका हुतराज थापा र ओम जोशीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो।

थापा र जोशीको बढुवा नभएको भए दुवै जना आगामी भदौ दोस्रो साता ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशामा जाने थिए। बढुवाका लागि थापा र जोशीसहित हरिहर पौडेल, सुनील ढकाल, टेकेन्द्र कार्की, सुमन वैद्यलगायत प्रतिस्पर्धामा थिए। विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे सेवाअवधिका कारण भदौ २८ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त पदमा थापा र जोशीमध्येबाट एक जनाको बढुवा हुनेछ।