काठमाडौं, साउन २७। जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ ।
अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ । टुसा उम्रेपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि धेरै फाइदाजनक हुने पोषणविद् उमा कोइराला बताउँछिन् । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व सजिलै प्राप्त गर्न सकिन्छ ।
भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ । अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ, जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ । बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्ने कोइरालाको भनाई छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ ।
कति मात्रामा खाने ?
क्वाँटीबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ । युरिक एसिड बढ्ने डर हुन्छ ।
यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी खाँदा त्यसले मिर्गौलालाई असर गर्छ । त्यसैले जसलाई यस्ता रोग लागेको उनीहरुले थोरै मात्रामा खानुपर्छ ।
क्वाँटी खानुको फाइदा
बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
स्मरणशक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ।
तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
कब्जियत हटाउनुका साथै पाचनशक्तिमा सुधार गर्छ ।
मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।
कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ ।
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ ।
पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।