मिटरब्याज उठाउनेलाई कारबाही गर्न सरकारले बनायो कार्यदल


काठमाडौं, साउन २७। चर्को मिटरब्याज लिएर सीधासोझालाई शोषण गर्दै आएकाहरु विरुद्ध अब सरकारले कार्यदल नै गठन गरेर नियन्त्रण गर्ने भएको छ । आज गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान गृहमन्त्री बालकृष्ण खाण तथा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

प्रम देउवाले मिटर ब्याजसम्बन्धी अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन निर्देशन दिएका थिए । सो लगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णय गर्दै गृहका सहसचिव भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । उक्त कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोबाट वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् ।

उक्त कार्यदललाई सम्बन्धित समस्याबारे अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । विशेषगरी मिटरब्याजको समस्या बढी भएका जिल्लाहरूको स्थलगत भ्रमण गरी समस्या र समाधानका उपाय पहिचान गर्न, मिटरब्याज उठाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि आवश्यक समन्वय तथा सहकार्य गर्नेगरी उपाय निकाल्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।