बञ्चरेडाँडामा उपत्यकाको फोहोर फाल्न नदिने सत्तारुढ दलको निर्णय, नगरप्रमुख बालेन बेचैन


खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोके ।

वडाध्यक्ष पर्शराम अर्यालका अनुसार ढकाल खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ ।

 

नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे । फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन् ।

जनप्रतिनिधिको पहल प्रहरीले फोहोर फाल्ने ट्रक पत्ता लगायो । प्र. ३ —००३—१२४६ नम्बरको गाडीले फोहोर फालेको पत्ता लागेपछि चालकमाथि कारबाही सुरु भएको छ । नदी किनारमा फालिएको फोहोर पनि हटाउने काम भइरहेको छ ।

 

तारकेश्वरको अवरोध हट्दा नहट्दै नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा मर्‍यो । स्थानीयले सडक अवरुद्ध गरे । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार सम्बन्धित गाडीले क्षतिपूर्ति दिएपछि अवरोध हटेको छ ।

एकै दिन दुई ठाउँमा भएको अवरोध सहमति जुटाएर हटाउँदा पनि फोहोर रोकेपछि काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भनेका छन् ।
तर काठमाडौंबाट फोहोर बेकेर गएको टिपरहरु बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्न सकेको छैन ।

त्यसको कारण हो, फोहोर फाल्न नदिने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको घोषणा गरेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।

यता काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहले फोहोरमा राजनीति भएको भन्दै अरवै रुपैयाँ लगानी भैसकेको जनाएका छन । हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।
आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए ।

१। कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो ।

२। फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।
वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।

सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।