साउने अन्तिम सोमबार शिलालयमा दर्शनार्थीको भिड्, इन्द्रेणी टिम शिवालयमा पुग्दा…


वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवम् बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भइ इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मंगलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने विधि छ ।

यस्तै आजको दिन देशै भरका शिलालयहरु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । विशेषत राजधानीको पशुपति नाथ, बुढानिलकण्ठ, आशापुरी, डोलेश्वर महादेव, भालेश्वर, इन्द्रथान दहचोक लगायतका स्थानमा विशेष पुजा हुने गर्छ ।
यता डोलेश्वर केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडेलमा समेत विशेष मेला लागेको छ । साउने अन्तिम सोमबारको दिन इन्द्रेणी कार्याक्रमको टोली डोलेश्वजरका साथै आशापुरीमा पुगेको हो । डोलेश्वर केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका सचिव शरिशरण बस्नेतले यस क्षेत्रमा राजधानी आशपास, बाहिरी जिल्लाका साथै भारतबाट समेत हिन्दुधर्माल्बीहरु दर्शनका लागि आएको बताएका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन् । परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महिनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले बताए । यस वर्ष साउन २, ९, १६, २३ र ३० गते गरी पाँचवटा सोमबार परेकाले आज अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो ।

नयाँ व्रत सुरु गर्न पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले बताए। शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण बोल बम यात्रा भने विगत वर्ष जस्तो हुन सकेन । फाट्टफुट्टरुपमा भने भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि खुला रहेका शिवालयमा भने चढाएका छन् ।

कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ ।
साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालयमा भक्तजनले पशुपति मन्दिर परिसरमा दर्शन गरेका छन् ।
अन्तिम सोमबार पशुपति परिसरमा उल्लेखनीय रुपमा भक्तजनको भीड देखिन्थ्यो । यस्तै पशुपति, गोकर्णेश्वरलगायत मन्दिरमा भक्तजनको भीड लागेको थियो ।