ऐतिहासिक धार्मिकस्थल शिवकालिका मन्दिरमा शिवजीको मुर्ती प्रतिस्थापन


कुश्मा नगरपालिका १२ ठूलीपोखरी बाटुलेचौर मन्दिरमा शिव मुर्तिको प्राणप्रतिस्ठा सम्पन्न गरिएको छ । ऐतिहासिक, धार्मिक, पौराणिक एवम् पुरात्तातिक रुपमा निकै प्रसिद्ध स्थल बाटुले चाौरमा शिवजीको नयाँ मुर्ति प्रतिस्थापन गरिएको हो । निकै आर्कषक र आधुनिक मुर्तिलाई बराल फिड पोखराका चन्द्रकान्त बरालले निःशुल्क उपल्लध गराएका स्थानीय समाजसेवी गणेश पौडेलले बताएका छन् । मुर्ति राख्ने संरचना निर्माणका लागि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, स्थानीय वडा, समाजसेवी तथा विभिन्न धार्मिक मनहरुको सहयोगमा काम सम्पन्न भएको बताइएको छ ।

कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी बाटुले चौरमा रहेको शिवकालिका मन्दिर कुश्मा बजार देखि करिव एक घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । यस मन्दिरमा ११० वर्षदेखि नियमित रुपमा पुजा हुदै आएको छ । करिव २ हजार ३ सय मिटरको उचाईमा रहेको मन्दिरको दर्शन गर्नाले मनोकामना पुरा हुनुका साथै सन्तान प्राप्ति हुने विश्वास रहदै आएको छ । चैत अष्टमी, तिज, बालाचर्तुदशी, शिवरात्री, साउने सोमबारमा यस मन्दिरमा विशेष पुजा हुने गर्र्दछ । शनित्रियोदशीमा १०८ पिपल घुमी जल चढाउनको लागि यहाँ विशेष व्यवस्था गरिएको छ ।

तेत्रायुगमा राजा भगवान दशरथले सिकार खेल्न जादाँ भान्जा श्रमणकुमारलाई अन्जानमा बाँण हानी मारेपछि यही स्थानमा अस्वमेद यज्ञ (सेतो घोडा काटेर होमन गर्ने कार्य) गरी १०८ गाई दान गरेर पाप मोचन गरेको किम्वंदन्ती छ । यज्ञ गरि होम लगाएको कुण्डमा टेकी तिजमा पुजा गरेमा रजस्वला हुदाँ महिलाले गरेका सबै पाप मोचन हुने विश्वास छ । तर अहिले भने यो कुण्ड संरक्षण विहिन भई अस्तित्व नै मेटिने अवस्थामा पुुगेको छ ।

 


श्रवणकुमार घाइते भई पानी खुवाउनको लागि दशरथले वाँण हानी निकालेको (वाणँ पानी कुवाको) पानी अहिलेसम्म पनि सुवेदी थरले प्रयोग गर्दैनन् । रामको अवतारको रुपमा पशुरामले समेत यस क्षेत्रमा तपस्या गरेकोले परशुरामधामको रुपमा समेत यो क्षेत्र परिचित छ । सुरुमा स्याङजा, बाग्लुङ, कास्की र पर्वतको व्यवसायीहरुको व्यापारिक केन्द्रको रुपमा रहेको यो स्थान २०४८ सालपछि सडक सञ्जालको विस्तारसंगै यसको महत्व घट्दै गएको छ ।

माघे संक्रान्तिपछि जैमिनुघाटमा पुग्ने व्यापारीहरु चैते दशैंसम्म यही बजार थाप्ने गर्थे । शिव मन्दिरको पश्चिम तर्फ मुख्य ढोका छ भने कालिका मन्दिरको पूर्व प्रवेश द्धार छ । २०१८ सालमा ६ महिनासम्म अखण्ड कोटीहोम गरी यस मन्दिर निर्माण गरिएको हो । २०३० को दशकमा परापूर्वकालदेखि रहिआएको पुरानो कालीको कालो र रातो जिब्रो भएको डरलाग्दो मुर्ति चोरी भएपछि बाहिरबाट नयाँ मुर्ति ल्याई स्थापन गरिएको छ । यस मन्दिर स्थानीय मौलिक शैलिमा निर्माण गरिएको छ । मन्दिरमा शिव, पार्वती, सालग्राम र कालीका भगवती अवतारलाई मुख्य रुपमा पुजा गरिन्छ ।

हाल कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाले यसको रेखदेख, संरक्षण, संम्बद्र्धन र पुजा सञ्चालन गर्दै आएको छ । मन्दिर ३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने आसपासको जग्गा, खेतबारी र पाखो गरि ८० रोपनी जमिन गुठीको नाममा संरक्षित छ । त्यही जग्गाको आम्दानीबाट नियमित पुजा हुने गरेको भएपनि अहिले जनशक्ति अभावका कारण धेरै जग्गा बाँझै छ । जसका कारण आम्दानी पनि घटेको छ ।
यस क्षेत्रमा पुराना र पौराष्णिक विषयहरुलाई उचित संरक्षणका लागि पाका पुस्ता सुकेको देखिन्छ । कुण्डको नजिकै मोटर बाटो खनि पुरानो यज्ञ लगाएको स्थान, पार्वतीले पानी खाने पुराने कुवाँ जस्ता स्थलहरु अहिले मात्र कथनमा सिमिति भएका छन् । जसका लागि अवका पुस्ताले यी स्थलहरुको संरक्षण गरी गरी थप प्रचारप्रसार विस्तार गर्नमा समेत ध्यान दिनु पर्ने समयमा आएको छ । –यमन पौड्याल