इजरायलमा कृषि काम गर्न १ हजार नेपाली कामदार जान सक्ने


इजरायलले नेपालबाट थप १ हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा १ हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप १ हजार जना लैजाने भएको हो ।

सो विषयको जानकारी नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ । मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले सो विषयमा थप जानकारी गराएका हुन् ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएका सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । आगामी दिनमा समेत इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए ।
मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको नीति पारित गरेको भन्दै यसमा इजरायली लगानीकर्ताको सहयोग आवश्यक रहेको बताएका थिए । अहिले धेरै नेपालीले इजरायल जान चाहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन मन्त्री कुँवरले राजदूत गोदेरसँग आग्रह गरेका थिए ।

इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार गतवर्ष एकहजार जना सहायक कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट १ हजार १ सय ४७ जना कामदार छनोटमा परेका थिए । उनीहरूले अहिले इजरायल जाने प्रक्रियामा छन् ।

इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।