काठमाडौं, साउन ३१। नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । शनिवार चलचित्रको हिन्दी र नेपाली दुवै संस्करणको टिजर सार्वजनिक गरिएको थियो । दुवै टिजरले यतिबेला राम्रो भ्युजसँगै चर्चा पाइरहेका छन् ।
दर्शकहरूले नेपालीभन्दा हिन्दी संस्करणको टिजरलाई अझ बढी रुचाएको प्रतिक्रिया दिएका छन् । साउथका प्रायः सुपर स्टारको चलचित्रको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो । हिन्दी संस्करणको टिजरमा डबिङ आर्टिस्टको डाइलग डेलिभरी र आवाज सुनेपछि दर्शकहरूले त्यसलाई अझ राम्रो प्रतिक्रिया दिएका हुन् । धेरै नेपाली दर्शकले चलचित्रको नेपाली भर्सनभन्दा हिन्दी डब हेर्न बढी रुचि रहेको प्रतिक्रिया समेत दिएका छन् ।
दर्शकहरूले हिन्दी टिजर बढी रुचाएको पाएसँगै नेपालमा हिन्दी डब समेत प्रदर्शनमा आउने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले भारतसँगै नेपालमा पनि चलचित्रको हिन्दी डब प्रदर्शन गरिने बताए । ‘दर्शकहरूमा हिन्दी डबको डिमाण्ड बढी देखियो । सोही कारण नेपालमा पनि हिन्दी डब लगाउँछौं,’ हाल मुम्बईमा रहेका सेनले भने, ‘नेपाली भर्सन रिलिज भएको १ हप्तापछि हिन्दी डब लगाउनेबारे सोच बनाएका छौं । नेपाल फर्किएपछि वितरकसँग बसेर फाइनल गर्छाैं ।’
निर्माता एवं निर्देशक सेन दर्शकहरूले हिन्दी भर्सनको टिजर बढी मन पराउनुको कारण डबिङ आर्टिस्टको आवाज सुनिरहेको भएर हुन सक्ने बताउँछन् । यद्यपि चलचित्र हेर्दा भने नेपाली भर्सन पनि उत्तिकै मनपर्ने बताए । उनले चलचित्रको नेपाली र हिन्दी दुवै भर्सन दर्शकका लागि विशेष हुने बताउँछन् । उनी भन्छन्, ‘प्रेम गीत ३’ नेपाली र हिन्दीमा फरक–फरक तरिकाले पटकथा बुनेको छु । जस्तै नेपालीमा १४ मिनेटमा हिरोको आगमन हुन्छ र हिन्दीमा २ मिनेटमा आगमन । त्यसैले दुवै भर्जन दर्शकका लागि विशेष बन्नेछ ।’
उनी भारतमा चलचित्रको टिजरलाई मिलेको प्रतिक्रियाबाट एकदमै उत्साहित रहेको बताउँछन् । स्व. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका छ । साथमा शिवश्रेष्ठ, पुष्कर कार्की, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, अनुभव रेग्मी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ ।
अभिनेत्री क्रिष्टिनाको प्रेम गीत ३’ डेब्यू चलचित्र हो । उनी अडिसनमार्फत २ हजार ५०० बढी प्रतिस्पर्धीलाई पछि पार्दै छानिएकी थिइन् । प्रेम गीत ३ नितान्त काल्पनिक कथा रहेको सन्तोषको भनाइ छ । जसलाई हरेक देशका दर्शकले अपनत्व गर्न सक्ने उनको भनाइ छ । कमेडी, एक्सन र लभको सम्मिश्रण चलचित्रमा रहेको सेन बताउँछन् । उनको दाबी छ, ‘मेरो मुख्य लभ स्टोरी चलचित्र त यो हो । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’मा भन्दा यसमा मीठो लभ स्टोरी दर्शकले हेर्न पाउँछन् ।’ राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई सञ्जय संक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रमा स्व. छेतन गुरुङ र मन्दिप गौतमको लेखन छ ।