वैदेशिक रोजगारीको १४ वर्ष : ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स, १० हजार ९०० को मृत्यु


काठमाडौं, भदौ ३। स्वदेशमा रोजगारी अभाव र राजनीतिक अस्थिरताका कारण दिनहुँ सयौँ नेपाली युवा रोजगारीको खोजीमा विदेशिएका छन्। अधिकांश नेपाली खाना‚ नाना र छानाको जोहो गर्ने सपना बोकेर विदेशिएका हुन्छन्। यसरी विदेश पुगेका कतिपयको जीवन फेरिएको पनि छ। कतिको सुन्दर सपना पूरा हुन नपाउँदै विदेशी भूमिमै जीवन समाप्त हुन्छ। यस्तै सपना लिएर दुई वर्षअघि साउदी अरब पुगेका किशोरकुमार धामी विदेशी भूमिमा अस्ताए।

आर्थिक अवस्था कमजोर रहेका किशोर पैसा कमाएर सहज जीवनयापन गर्ने सपनासहित साउदी अरबका लागि उडेका थिए। नेपाल फर्किन दुई महिना मात्र बाँकी हुँदा उनको मृत्यु भयो। उनकै भरमा चलेको परिवारको बिचल्ली भएको छ। त्यस्तै लमजुङका गोविन्दबहादुर थापाको आर्थिक अवस्था कमजोर थियो। नेपालमा बसेर परिवारको पेट भर्न धौधौ पर्न थालेपछि उनी चार वर्षअघि रोजगारीको खोजीमा मलेसिया पुगेका थिए।

परिवारको आर्थिक अवस्था सुधार्न विदेश गएका थापाको शव पनि गत असोजमा बाकसमा फर्किए। धामी र थापा प्रतिनिधि पात्र मात्र हुन्। यसरी रोजगारीको खोजीमा विदेशिएका हजारौँ युवाको सपना विदेशी भूमिमै बिलाउने गरेको छ।

रेमिट्यान्समा सरकारको आँखा, श्रमिकको सुरक्षामा छैन ध्यान

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली युवाले १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रेमिटेन्स पठाए। विदेशमा कार्यरत नेपालीहरुले गत आर्थिक वर्ष २०७८\७९ मा मात्रै नौ खर्ब ८६ अर्ब रुपैयाँ पठाएका छन्। यो रकम १४ वर्षयताकै उच्च हो। यसरी हेर्दा रोजगारीको खोजीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले कुल ग्रार्हस्थ्य उत्पादनको २५ प्रतिशत धानेको छ।

सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा रोजगारीका लागि विदेशिनु पर्ने अवस्था छ। युवाले विदेशी भूमिमा पसिना बगाएको पैसा देशको अर्थतन्त्र धानेको छ। सरकारले युवा बेचेर रेमिट्यान्स भित्र्याएको जानकारहरु बताउँछन्।

१४ वर्षमा १० हजारले गुमाए ज्यान

रोजीरोटीका लागि विदेशिएका धेरै नेपाली युवाले विदेशी भूमिमा मृत्युवरण गरेका छन्। ठूला सपना बोकेर विदेशिएका नेपाली काठको बाकसमा फर्किरहेका छन्। रेमिट्यान्सको यो पाटो हेर्दा निकै सुखद् देखिन्छ। वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित नहुँदा कतिपयले विदेशी भूमिमा ज्यान गुमाउनु परेको अवस्था छ। नेपालमा रेमिट्यान्ससँगै ठूलो संख्यामा शव आउने गरेको सरकारको तथ्यांक छ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या बर्सेनी बढेको छ। रोजगारीको खोजीमा १४ वर्षमा ५० लाख ८३३ युवा विदेशिएका छन्। त्यसमध्ये १० हजार ९३२ नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०६५/६६ मा ७८ जनाले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षमा एक हजार ४७९ जनाले ज्यान गुमाएका छन्। त्यस्तैगरी अगंभग भएर फर्किनेको संख्या पनि कम छैन। १४ वर्षको अवधिमा दुई हजार १२५ जना अंगभंग भएर फर्किएको अवस्था छ। अवैध प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने तथा अंगभंग भएर फर्किनेको संख्या अझ ठूलो छ। यस्ता श्रमिकको तथ्यांक बोर्डले समेटेको छैन।

कुन वर्ष कति विदेशिए?

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या पनि १४ वर्षयता उच्च देखिएको छ। आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ रोजगारीका लागि विदेश गएका थिए। २०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना विदेशिएका तथ्यांक छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/६८ मा तीन लाख ५४ हजार ७१६ जना विदेश गएका थिए। आर्थिक वर्ष २०६८/६९ मा तीन लाख ८४ हजार ६६५ जना विदेशिएका छन्। आर्थिक वर्ष २०६९/७० मा यो संख्या बढेर चार लाख ५० हजार ८८९ पुगेको छ। २०७०/७१ मा पाँच लाख २७ हजार ८१४ विदेशिएकाे तथ्यांक छ।

त्यस्तैगरी २०७१/७२ मा केही घटेको देखिएको छ। उक्त वर्ष चार लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका छन्।

आर्थिक वर्ष २०७२/७३ मा ४ लाख तीन हजार १७४ नेपाली वैदेशिक रोजगारमा गएको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ युवा विदेशिएका छन् भने २०७४/७५ मा यो संख्या तीन लाख ५४ हजार ८२ पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ विदेश जानेको संख्या घटेको थियो। उक्त वर्ष दुई लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेका थिए। २०७६/७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या निकै घट्यो। उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामका लागि विदेशिए।

२०७७/७८ कोभिडको प्रभाव अझ देखियो। उक्त वर्ष ७२ हजार ८१ जना युवा मात्रै गए। २०७८/७९ मा ६ लाख ३० हजार ९७ युवा रोजगारीको खोजीमा विदेशिएकाे विभागको तथ्यांकले देखाएको छ।