रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए


काठमाडौं, भदौ ४। नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो ।

सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उहाँको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उहाँको विश्वास छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउनुभयो । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उहाँले बताउनभयो ।

तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका व्यापारीले बताएका छन् । तत्काल नाका नखुले दशैँ बजार नै प्रभावित हुन सक्ने व्यापारीहरुको भनाइ छ । कोरोनाका कारण चीनले तीन वर्ष अघिदेखि नै नाकामा कडाइ गर्न थालेको हो । कोरोना सङ्क्रमण कम भएपछि नाका आंशिक खुलेको थियो । फेरि चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको हो ।