काठमाडौं, भदौ ५। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिनुभयो । पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उहाँले बताउनुभयो । थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गर्नुभयो ।
‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचारसंहिता उल्लङ्घन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ’ थपलियाले भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताउनुभयो । उहाँले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो । जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उहाँको भनाइ छ ।
पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ‘चुनावमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ’ उहाँको टिप्पणी थियो ।