पार्टीको झण्डा ओढाएर नेता गिरीको अन्तिम बिदाइ


काठमाडौं, भदौ ५। नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अन्तिम बिदाइमा पार्टी सभापति शेरबहादुर देउवाले झण्डा ओढाएर अन्तिम बिदाइ एवं सम्मान प्रकट गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएको दिवंगत नेता गिरीको पार्थिव शरीरमा कांग्रेसका वरिष्ठ नेताहरु लगायत विभिन्न पार्टीका नेताहरुले बिदाइ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता अर्जुन नरसिंहकेसी लगायतले उनको पार्थिव शरीरमाथि बिदाइ श्रद्धाञ्जली अर्पण गरे । त्यसअघि पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायतले मेडिसिटी अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका थिए । स्व. गिरीको अन्तिम संस्कार आजै अपराह्न हिन्दू परम्परा अनुसार पशुपतिस्थित आर्यघाटमा हुने बताइएको छ ।