‘झमझम झम्कना’ तीज गीत करोड क्लवमा प्रवेश, झम्कनाको टिमबाट इन्द्रेणीमा प्रस्तुती


काठमाडौं, भदौ ५।  एक महिना अघि सार्वजनिक भएको तीज गीत ‘झमझम झम्कना’ युट्युब च्यानलमा एक करोड भन्दा बढि भ्युज पार गर्दै करोड क्लबमा प्रवेश गरेको छ । एक महिनाअघि सार्वजनिक भएको यस गीतले युट्युबमा एक करोड २९ लाख भन्दा बढी भ्युज पाएको हो ।

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतलाई दर्शकले सर्वाधिक मन पराएका छन् । यसवर्ष सार्वजनिक तीज लक्षित गीतमध्ये अहिलेसम्म करोड क्लबमा पुग्ने एकमात्र तीजगीत हो । यो समाचार तयार पर्दासम्म गीतलाई युट्युबमा हालसम्म एक करोड २९ लाख ६५ हजार ५ सय बढी भ्युज छ । गीत करोड क्लबमा प्रवेश गरेकोमा गायक चलाउनेले फेसबुकमार्फत दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् । यो गीत हिट हुनुमा टिकटकका साथै सामाजिक सञ्जालको निकै भूमिका रहेको समेत उनको भनाई छ ।

बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ । गीतको भिडियोमा मोडल गीता ढुंगाना र भागिरथ नै फिचर्ड छन् । सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’को भिडियोलाई राजेश घिमिरेले छायाङकन गरेका छन् । यता कोरियोग्राफरमा तथा निर्देशक प्रकाश भट्ट भने दृश्य निर्माणमा साई भिजन प्रालि रहेको छ । करोड क्लवमा प्रवेश गरेको भन्दै यो तीजगित निर्माण गर्ने सबै समूह इन्द्रेणी कार्यक्रममा आई आफ्नो प्रस्तुती गरेका छन् । करोड करोडको खुशीयालीमा गायक गायिकाका साथै अभिनय गर्ने कलाकारहरु सहभागी भएका हुन ।