तीनै तहका १ लाख बढी निजामती कर्मचारीले आज देखि आन्दोलन गर्ने


काठमाडौं, भदौ ६। देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आज (साेमबार) देखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।

उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने भएका छन् । यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् । सोही पत्रमार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाहमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ ।