मृतकलाई जीवित बनाएको दावी गर्ने पास्टर पक्राउ


काठमाडौं, भदौ ६।  ‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा एक जना पास्टर पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे सोमबार दिउंसो बुटवलबाट पक्राउ परेका हुन् । गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ । यस्तो भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएको थियो । प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्राउ गरेको हो ।

भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच- छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।