रेशम चौधरीकी पत्नी रञ्जिताद्वारा कैलाली-१ मा उम्मेदवारी घोषणा


काठमाडौं, भदौ ९। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गरेकी हुन्। ‘२०७९ साल मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलालीका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो उम्मेदवारीको घोषणा गर्न चाहन्छु’, उनले भनिन्।

रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी श्रीमति हुन्। टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी कारागारमा छन्। कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले आफू उम्मेदवार बन्ने घोषणा गरेकी हुन्। २०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा प्रमुख पद जितेको छ।