समानुपातिक तर्फको मनोनयन दर्ता सुरु


मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो ।

यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । भोली शनिवार र आइतबार २ दिनसम्म समानुपातिकतर्फ राजनीतिक दलको मनोनयन दर्ताको क्रम जारी रहनेछ ।

शुक्रबार भएको समानुपातिकतर्फको दलको मनोनयन दर्ताका क्रममा १ नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । आजै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत अन्य केही साना राजनीतिक दलहरूको पनि मनोनयन दर्ता भएको छ ।

आयोगका उपसचिव एवं सहप्रवक्ता अर्यालले भने–‘समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवारको रुपमा मनोनयन हुने व्यवस्था अनुसार निर्वाचन अधिकृतको कार्यालयमा २९ दलले मनोनयन दर्ता गर्नुभएको छ । भोली र पर्सी कति आउनुहुन्छ, उहाँहरुको मनोनयन दर्ता हुन्छ । आइतबारसम्म दर्ताको अन्तिम नतिजा थाहा हुन्छ ।’ समानुपातिक निर्वाचन प्रणालीका लागि यसरी मनोनयन दर्ता भएका राजनीतिक दलहरुले असोज २ र ३ गते बन्द सूची पेश गर्न पाउनेछन् ।