दोहोरीमा पत्ता लगाए ‘नक्कली’ डबल ब्ल्याक मदिरा, कारखानाबाट ५ जना पक्राउ


काठमाडौंको दरबारमार्गस्थित दरबार दोहोरीमा एकजना ग्राहकले डबल ब्ल्याक लेबल अर्डर गरे । मदिराका पारखी ती ग्राहकले पहिलो चुस्की लिनासाथ मदिरा नक्कली भएको शंका गरेर गुनासो गरे । सो घटना जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसम्म पुग्यो ।

 

सो घटना पछ्याएर काठमाडौं प्रहरीले भक्तपुरको दुवाकोटमा सञ्चालित नक्कली विदेशी र स्वदेशी मदिरा बनाउने कारखानामा छापा मार्‍यो । कारखानामा छापा मारेर नक्कली मदिरा उत्पादनमा संलग्न ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले आरोपीहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका घर भएका २४ वर्षीय हरि वली, भीमेश्वर नगरपालिका–८ घर भएका भगवान बस्नेत, कालिन्चोक गाउँपालिकाका विशाल वली, रामेछापको खाँडादेवी घर भएका मनोज खत्री र खाँडादेवी कै गोपी श्रेष्ठ छन् ।

नेपाली मदिरालाई मिसाएर विदेशी मदिराको बोतलमा प्याक गरेर आरोपीहरुले नक्कली मदिरा बनाएर वितरण गर्ने गरेका थिए । वर्ल्ड दरबार ब्ल्याक चिम्नी दुई बोतल र एक बोतल ब्ल्याक लेबल मिसाएर उनीहरुले ४ बोतल डबल ब्ल्याक लेबल बनाउने गरेका थिए । डबल ब्ल्याक लेबल बनाउन आरोपीहरुले ‘रुद्रा’ नामको रंग पनि प्रयोग गर्थे ।

विदेशी कम्पनीको ज्याक डेनियल्स तयार गर्न आरोपीहरुले सिग्नेचर र वर्ल्ड दरबार मिसाउने गरेका थिए । रेड लेबल तयार गर्न अन्य घरेलु मदिरा र चिनी डढाएर रातो रंग बनाएर ओरिजिनल बोतलमा भर्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

नेपाली ब्रान्डको भोड्का ८८४८ पनि उनीहरुले नक्कली बनाउने गरेको थाहा भएको छ । हाइल्याण्डर नामको भोड्का र माला प्लाष्टिकमा पाइने रक्सी मिसाएर उनीहरुले ८८४८ भोड्का तयार गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । लामो समयदेखि यस्तो कारोबार गरेपछि धेरै कमाउने लोभमा ‘डबल ब्ल्याक’ पनि बनाएर बेचेपछि उनीहरुको पोल खुलेको छ ।

 

आरोपीको बयान–‘सिल फेर्न भारतमा सिके’

पक्राउ परेका मध्येका रामेछापको खाँडादेवी गापा–२ घर भएर मूलपानी बस्ने मनोज खत्री सो योजनाका मास्टर माइन्ड हुन् । २७ वर्षका खत्रीलाई यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा उत्पादन गरेको आरोपमा पक्राउ गरेको थियो ।

दोस्रोपटक नक्कली मदिरा कारोबार गरेको आरोपमा पक्राउ परेका खत्रीले भारतमा गएर ब्रान्डेड मदिराको सिल उप्काउन सिकेको प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्– ‘भारतमा बस्दा सिल निकाल्ने आइडिया सिकेको हुँ ।’

विदेशी मदिराको सिल निकै सुरक्षित तरिकाले बनाइएको हुन्छ । तर, फलामको कब्जा प्रयोग गरेर उनीहरुले सजिलै बिर्को खोलेर मदिरा भर्ने र पुनः सिल गरेर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको रातोपाटीले लेखेको छ ।​ आरोपीहरुले प्रहरीलाई ब्ल्याक लेबलको बिर्कोमा भएको ४ वटा लक कसरी खोल्ने भन्नेबारे पनि बताएका छन् ।

मास्टर माइण्ड मनोजले जडिबुटीमा मदिरा पसल चलाउने भगवान बस्नेतलाई लगानी गर्न आग्रह गरेर उनीहरुले सो कारोबार शुरु गरेको एसएसपी भरत बोहराले जानकारी दिए । हरि वलीचाहिँ बिक्रेता हुन् । उनीहरुले उत्पादन गरेको रक्सी बजार भाउभन्दा दुई हजार सस्तो मूल्यमा रात्रि क्लब, दोहोरी क्याबिन रेष्टुरेण्टमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।