बालकोटमा ओलीसँग रवीन्द्रको अढाई घण्टा, ओलीले दिए एक मुठ्ठी सिक्का उपहार !


काठमाडौं, भदौ १३। विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।आईतबार साँझ बालकोट पुगेर ओलीसँग अढाई घण्टा कुराकानी गरेको मिश्रले साजाजिक संजालमा जानकारी दिएका छन् । उनले भेटमा आगामी निर्वाचनको सन्दर्भमा छलफल गरेको जानकारी दिएका छन् । खासगरी उनीहरुबीच व्यक्तिगत र राजनीतिक विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन् ।

कुराकानीको अन्त्यमा नेपालको चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार स्वरुप दिएको मिश्रले बताएका छन् । सत्तारुढ पाँचलले आगामी चुनावी रणनीतिका लागि गठबन्धन कसिलो पार्दा नेकपा एमाले पनि ससना दलाहरुलाई साथमा लिएर जाने रणनीतिमा छ । जस स्वरुप एमालेले अन्य दलहरुसँग पनि चुनावी छलफल गरिरहेको छ । ओली मिश्र भेटले पनि यसलाई पुष्टि गर्दछ ।

भेटपछि रवीन्द्रले यस्तो लेखे स्टाटस्

“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।” उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२र०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ। ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो। सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।” चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ ।