समुन्द्रपारिकी चेली हराएको बस्ती


तीज अगाडि नै गोडमेल सकिन्छ होला भाइ
यसपालि त अल्लि छिट्टै लिन आइज है
घरको मेसो मिलाएर जसरी जाने हो हो भन्दै
दिदीले फोन गरेको हिजो जस्तो लाग्छ।।

झोलाभरी खिर क्राक्री र घ्यू भरी
भदौरे झरी उर्लिएको चिर्दीखोला तरी
दरखाने अघिल्लै दिन तीजकी चेलीलाई लिन
साझमा दिदीको घर पुगेको आजै जस्तो लाग्छ।।

परदेशिएका भेना सासूससुराको आदेश र वचन मानेर
फुरुङ हुँदै भान्जा भान्जीलाई अघिपछि तानेर
माइती घरमा दरखान हिडेकी मेरी दिदी
आगनीमा छमछ्म नाचेको आजै जस्तो लाग्छ।।

आमाले पकाएको चाम्रे तामाआलु र झिनुवा
चारैतिरका दिदीबहिनी वृद्ध आमाबा र दाजुभाइ
सुखदुःख साट्दै हासोठ्ट्टा काट्दै रमाइरमाइ
चेलीले माइतीघर भरिएको आजै जस्तो लाग्छ ।।

माझघरे जेठाबाको आगनभरी चेली जम्मा भइ
आफ्ना कथा मनका व्यथा गीतबाटै सुनाउदै
तिमीले वेदना पोखेको सुन्तलीले मादलु ठोकेको
गाउँ नै रमाइलो चेलीको लर्को आजै जस्तो लाग्छ।।

पाँचै डाडापारि माइतीघर अनि तिमी यहीँ थियौ
जन्मेको थलो हुर्केको पखेरी मुटु सम्झियौ
वर्षदिनको तीज माइती भेट्न अनि अत्यास मेट्न
तिज आएको र चेली रमाएको आजै जस्तो लाग्छ।।

समयले उतै बस्ने पिआर र ग्रीन कार्ड पाएपछि
सुखी र भाग्यमानी परिवारका साथ विदेश गएपछि
पलपलको भिडियोकल र बोलचाल भएपनि
यिनै चार्डवार्डमा तिमी नहुदा सबै रित्तो जस्तो लाग्छ।

न त छोरा न त छोरीका सन्तानले कुल्चेको आगनी
रोगी शरीर बाचुन्जेको आशे त्यान्द्रो रित्तो घर कुर्दानी
निर्जन भञ्ज्याङ् ,टोलाएको गाउँ ,एक्लो चौतारी
आजभन्दा भोलि झनझन उदाङ्गो उदाङ्गो लाग्छ।।

पार्टीप्यालेसमा फेसनका डान्स र ककटेल दर देखाइन
टिकटक र फेसबुक लाइभमा हाम्री दिदी आइन
उता तिमी यता सेतै फुलेका बाटो कुरेका आमाबाउ
जेलैमा हो जेलैमा चरी जेलैमा कस्तो कस्तो लाग्छ।।

हराएका भगेरी चेलीसितै परदेशै पो पस्यौ कि
माइतै नआइ कोइली चरी उतै एक्लै रुदै बस्यौ कि
छैनन् चेली बज्दैन मादलु माया मारिन परदेशीले
गाउँघर सुनसान उराठ बिराठ भासिए जस्तो लाग्छ।।

नेत्र बराल
फलेवास ,पर्वत