मुग्लिन-नारायणगढ सडक खण्ड १३ घण्टादेखि ठप्प : दुई ठाउँको पहिरो हट्यो, केराबारीको हटाउन बाँकी


काठमाडौं, साउन १७। मुग्लिन-नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरोको कारण गएराति ११ बजेदेखि यो सडक खण्ड ठप्प छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । अहिलेसम्म भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीको पहिरो भने हटाउन बाँकी छ । गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । यस्तै, नौबिसे-मुुग्लिन सडक खण्डमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । हिरोका कारण सडक अवरुद्ध भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।