नारायणगढ–मुग्लिन पहिरो : दशकाैंदेखिकाे समस्या, दीर्घकालीन समाधान कहिले ?


काठमाडौं, साउन १७। पृथ्वीराजमार्ग विस्तारका लागि लामो समयदेखि भित्ता काट्ने कार्य हुँदा नारयणगढ–मुग्लिन सडकखण्डमा दैनिक जसो पहिरो खस्ने गरेको छ । वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले पनि जस्ताको तस्तै छ ।

पहिरोका कारण गन्तव्यतिर जाने यात्रुले भोग्ने गरेको सास्तीको कुनै लेखाजोखा छैन । यसको दिगो समाधानका लागि अवलम्बन गरिने उपायले सार्थकता नपाउँदा आम नेपालीले वर्षौंदेखि यो समस्या झेल्नु परेको छ । पटक–पटक पहिरो झर्ने गर्दा अत्यावश्यक सवारीसमेत घण्टौ रोकिनुपरेको छ । ठूला–ठूला पहिरोका कारण बाटो खुलाउनै समस्या हुने गरेको छ । सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले एम्बुलेन्स, विवाहका गाडी, खाद्यान्नका सवारी सबै जाममा पर्छन् । सडकखण्डको चार किलो, पाँच किलो, चौध किलो, सेतीदोभानमा प्रायजसो पहिरो जाने गर्छ ।

भौगौलिक बनावटका कमजोर हुनु, सडक विस्तारका लागि भित्ता काट्नु र मुख्य सडकबाट सहायक बाटो निर्माण गर्दा पहिरो खस्ने क्रम झनै बढेको हो । विगतका वर्षमा धेरै पहिरो जाने ठाउँमा वायो इन्जिनियरिङको काम भए पनि अन्य ठाउँमा पहिरो जाने क्रम रोकिएन । यही वर्षको जेठ महिनामा सोही सडक खण्डमा २ पटक पहिरो गयो । जेठ २६ गते तीन पटक अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड जेठ २८ गते टोपे खोला नजिकै पहिरो खस्दा दुईतर्फी सवारी रोकिए ।

यसैगरी असार २८ गते चितवनको इच्छाकामना गाउँपालिका चारकिलोमा पहिरो जाँदा यात्रुले एउटै समस्या बेहोर्नुपर्यो । यसैगरी श्रावण ३ गते मुग्लिनबाट दुई किलोमिटर काठमाडौंतर्फको घोप्टे भीरमा पुनः पहिरो गयो । विश्व बैंकको ऋण सहयोगमा झन्डै तीन वर्षअघि उक्त सडक खण्डको पुनर्निर्माण गरिएको थियो । लगत्तै सडकसँगको भिरालो भूबनोट संरक्षण गर्नका लागि पुनः विश्व बैंककै सहयोगमा मूल्याङ्कन गरी २६ स्थानमा त्यसको काम सुरु गरिएको थियो । सडक खण्डको दिगो समाधानका लागि अवलम्बन गरिने उपायले सार्थकता नपाउँदा नेपालीले वर्षौंदेखि समस्या झेल्नुपरेको छ ।