समय दिएर अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर


काठमाडौं, भदौ १७। ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई समय दिएर हटाउने भएको छ। अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ। अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जन बताउँछन्।

महानगरले पटकपटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना अटेर गरी नहटाए प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनले बताए। ‘हामी कानुनीरूपमा विधि र प्रक्रिया पुर्‍याएर कारबाही गर्छौं, अनधिकृत संरचनालाई क्रमश हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्‍याउने काम गर्दैनौं, नियमअनुसार मौका दिएरै अनधिकृत संरचनाहरू हटाउँछौं।’ अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटकपटक सूचना दिइसकिएको उनले बताए।

‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनेको हो। दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्नेमा हामी सचेत छौं। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउँछ। दसैंपछि सबै अनधिकृत संरचना महानगरले हटाउँछ।’ साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ। व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीलाई व्यापार गर्ने ठाउँको विकल्प खोज्नसमेत आग्रह गरिसकिएको मेयर महर्जन बताउँछन्। यसरी समय दिँदा महानगरले अनधिकृत संरचना हटाउने दिन समस्या आइनपर्ने महानगरको विश्वास छ।

ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरभित्रका व्यवसायीहरू आफैँ अनधिकृत क्षेत्रबाट हट्ने विश्वास गरेका छन्। ‘सकेसम्म हामी डोजर नलगाउने पक्षमा छौं। अनधिकृत संरचना उहाँहरू आफैँले हटाउनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘हतार र आवेगमा हामी अनधिकृत संरचना हटाउँदैनौं। केही समय दिइन्छ। समयभित्र अनधिकृत संरचना हटेन भने महानगरले हटाउने हो।’ उनले अन्डरग्राउण्ड पार्किङ खाली गर्न पनि दसैंसम्म समय दिइएको बताए। ‘घरधनीको गल्तीले व्यवसायी सडकमा आउन हुन्न। हामी सबै विधि र प्रक्रिया पुर्‍याएपछि मात्रै अनधिकृत संरचना हटाउने हो,’ उनले भने।

अनधिकृत संरचना हटाइयो:

ललितपुर महानगरकै अधिनमा रहेको लगनखेलस्थित भवनमा नियम विपरीत बनाएको संचना महानगरले हटाएको छ। सडकपेटी नै ढाक्नेगरी संरचना बनाएपछि महानगरले त्यस्तो संरचना हटाएको हो। ‘हामीले नियम र प्रक्रिया पुर्‍याएर व्यवसायीलाई समय दिएरै यस्तो संरचना हटाएका हौं,’ उनले भने। ललितपुर महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट सवारीसाधन पार्किङको प्रयोजन खुलाई नक्सा स्वीकृति लिइएको छ भने बेसमेन्टलगायतमा व्यापारिक गतिविधि सञ्चालन नगर्न भनेको छ। ‘सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजनअनुसार छ कि छैन भनेर अनुगमन हुन्छ,’ उनले भने, ‘पार्किङको सहज व्यवस्थापनका लागि काम भइरहेको छ।’