दशैँका लागि नयाँ नोट आइतबारबाट साट्न पाइने


आगामी आइतबारदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि दशैको लागि नयाँ नोट साट्ने व्यवस्था मिलाउन लागेको हो। नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट साट्दै आएको छ। विगत लामो समयदेखि दशैँमा टिका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने प्रचलन चलि आएको यसले गर्दा राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट साट्दै आएको छ।

 

दशैँमा नयाँ नोट साट्नका लागि केन्द्रिय बैंक तथा वाणिज्य बैंकहरुमा सर्वसाधारणको लामो भिड लाग्ने गर्छ। राष्ट्र बैंकले दशैँमा पाँच, दश, वीस, पचास र सय दरका नयाँ नोटहरु उपलब्ध गराउने गरेको छ। यसपालीको दशैँको लागि भदौ २६ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाउने गरी तयारी गरिएको राष्ट्र बैंक मुद्रण विभागका कार्यकारी निर्देशक रेवती नेपालले मेरोलगानीलाई बताए।

 

उनका अनुसार आगामी आइतबारदेखि नै नयाँ नोट साट्ने तयारी गरिएको भए पनि त्यसको निर्णय भने भइसकेको छैन्। आइतबारदेखि नोट साट्ने गरी तयारी गरिएको छ तर निर्णय भने बुधबारसम्ममा हुने उनले बताए। यस वर्ष पनि वाणिज्य बैंकहरुमार्फत नै सहज रुपमा नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइने उनी बताउछन्। राष्ट्र बैंकबाट मात्रै नयाँ नोट साट्दा धेरै भिडभाड हुने भएकोले वाणिज्य बैंकहरुमार्फत पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको हो। केन्द्रिय बैंकले विगत केहि वर्षदेखि वाणिज्य बैंकहरुबाट नै नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ।

 

दशैँमा नयाँ नोट साट्दा नोटको आयु घट्ने सम्भावना धेरै हुन्छ। दशैँमा टिका लगाएर नयाँ नोट दिँदा नोटमा रङ्ग लाग्ने र त्यसले नोटको आयु समेत घटाउछ। यसले गर्दा केन्द्रिय बैंकले दशैमा नयाँ नोट साट्ने प्रणालीलाई हटाउने पक्षमा छ। तर पनि अहिलेसम्म नयाँ नोट साट्ने प्रचलन चलिरहेको छ। दशैँ सुरु हुन अझै ३ हप्ताभन्दा बढी अवधि बाँकी छ। नयाँ नोट साट्नको लागि हुने भिडभाडलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अहिलेदेखि नै नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो।