मन्त्रीसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड पाँच दिन थुनामा


काठमाडौं, भदौ २०। संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासनले हिजो छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जानका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गर्नुभएको थियो ।

मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उहाँले पनि लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको थियो । सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । नियम पालना गराउने सुरक्षागार्डलाई मन्त्रीले आफ्नो हैकम देखाउँदै थुनामा राखेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।