अस्पतालमा डेङ्गीका बिरामीको चाप : परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो


काठमाडौं, भदौ २१। अस्पतालहरुमा डेङ्गीका बिरामीको चाप बढ्दै गएको छ । बिरामीको चाप बढ्दै गएकाले कतिपय अस्पतालहरुले डेङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले छुट्टै क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा दैनिक १ सय ५० देखि १ सय ७० जना डेङ्गीका बिरामी उपचारका लागि पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, पेट दुख्ने बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । यस्तै काठमाण्डौको वीर अस्पतालमा पनि डेङ्गीका बिरामीको चाप बढेको वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले बताउनुभयो ।

दैनिक ३० देखि ४० जना डेङ्गीका बिरामी अस्पताल पुग्ने गरेका उहाँले बताउनुभयो । देशका अरु अस्पतालमा पनि डेङ्गीका बिरामीको चाप बढ्न थालेको अस्पतालहरुले बताएका छन् । अहिले सङ्क्रमितमध्ये ८० प्रतिशत बिरामी ललितपुर, रुपन्देही, काठमाण्डौ, मकवानपुर, धादिङ, भक्तपुर, तेह्रथुम, सिन्धुली, गुल्मी र सङ्खुवासभा गरी १० वटा जिल्लाका छन् । यही अनुपातमा डेङ्गी सङ्क्रमित बढ्दै जाने हो भने अस्पतालहरुमा स्रोत साधनको अभाव हुन सक्ने देखिएको छ । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल भने कोरोनाको तयारीका लागि अस्पतालहरुमा सबै स्रोत साधनको व्यवस्था भएकाले आत्तिनु पर्ने अवस्था नभएको बताउनुहुन्छ । अहिलेसम्म देशभर ५ हजार २९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

यसैबीच डेङ्गीको प्रकोप बढ्दै जाँदा त्यसको परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो छ । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गी परीक्षणको शुल्कमा मनोमानी पाइएको उनीहरुले गुनासो गरेका हुन् । सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्म रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गी परीक्षणको शुल्क आठ सय रुपैयाँ लिने गरेको छ । वीर अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपैयाँ लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा धेरै शुल्क लिएको दाबी गरेको छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपैयाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गर्नुभयो ।