खेलकुदमा राजनीति नगरौं : मन्त्री अथक


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलक्षेत्रमा राजनीती नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको छ ।

राजधानीमा आज देखि सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासकालागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो । खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेलसंघमा देखिएको राजनैतिक विचलन तर्फ ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनुहोस, राजनिति गर्ने त विभिन्न पार्टी छदैंछन नि

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्री अथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताउनुभयो । खेललाई उद्योगका रुपमा समेत विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भईसकेको जानकारी गराउँदै मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

राज्यको प्रतिनिधत्व गर्दैै बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सहजताकालागि विशेष पासपोर्टको ब्यवस्था गर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।