आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : सबै निरक्षर नेपालीलाई साक्षर बनाउन चुनौती


काठमाडौं, भदौ २३। आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ । दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ । युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको भए पनि विगत तीन वर्षअघि स्थगन गरिएको छ । सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् । दिवसका अवसरमा शुभकामना व्यक्त गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । साक्षर नेपाल अभियानलाई प्रभावकारी बनाउन र सबै जिल्लालाई जतिसक्दो छिटो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

शिक्षालाई आम नागरिकको पहुँचमा पुर्याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवर्द्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको उल्लेख गर्नुभएको छ । कोभिड–१९ को महामारीले वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको सन्दर्भमा विभिन्न वैकल्पिक माध्यमबाट दिगो विकासअन्तर्गतका शैक्षिक लक्ष्य हासिल गर्न सबैले थप प्रयास गर्नुपर्ने देखिएको पनि प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।