नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिको राजीनामा : प्रचण्ड


काठमाडौं, भदौ २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन: दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ,’ उनले भने, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँले यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ यो ‘इस्यु’। अदालतको फैसलापछि त्यो अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ।’ प्रचण्डले अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भए पनि त्यतिवेला सर्वसम्मत हुन नसकेको बताए।

प्रधानमन्त्रीको दौडमा छैन

प्रचण्डले अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नतोकिने भन्दै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने बताए। उनले भने, ‘मैले त भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुन सक्थेँ। ०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो। तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो।’ अहिले पनि प्रधानमन्त्रीको कुरामा छलफल नभएको उनको भनाइ छ।

अहिले पनि आफू प्रधानमन्त्री बन्ने चाहना राख्दा हुने स्थिति भएको उनले खुलाए। ‘तर, म अहिले हुँदिन, त्यो देश र जनताको लागि पनि फाइदाजनक हुँदैन,’ प्रचण्डले भने, ‘त्यसकारण म यो रेसमा छैन।’ अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा पनि कुनै चर्चा नभएको उनको दाबी छ।