दार्चुलामा बाढीपहिरोमा परी ५ को निधन, ३ जना अझै वेपत्ता


दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना र १३ वर्षीया धनुली ठगुन्ना तथा वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। नौगाडमा पहिरोले १२ घर पूर्ण रूपमा क्षति पुगेको राससले जनाएको छ।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। ​ लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए। उनीहरुको खोजी भइरहेको छ। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ। पावर हाउस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन। दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको बितन्डा। महाकाली र लास्कु खोलाले दर्जनौं घर बगाउनुका साथै आधा दर्जन स्थानीय बेपत्ता छन्। नदी कटान जोखिम कायमै छ।
दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको बितन्डा। महाकाली र लास्कु खोलाले दर्जनौं घर बगाउनुका साथै आधा दर्जन स्थानीय बेपत्ता छन्। नदी कटान जोखिम कायमै छ। दुहुँ खलङ्गा जोड्ने दार्चुला तिङ्कर सडक बन्द छ भने झोलुगे पुल बगाएको छ।
महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए। बमका अनुसार पाँचवटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ।